मकवानपुरका साँढे चारसय बालबालिका खोपबाट वञ्चित

मकवानपुरको प्राथमिक स्वास्थ केन्द्र भीमफेदीमा विद्युतआपुर्ति बन्द भएपछि बालबालिकालाई लगाउनु पर्ने अनिवार्य खोप लगायत आपत्कालीन सेवा बन्द भएको छ । दुईसाता अघि विद्युत मिटर जलेपछि स्वास्थ्य केन्द्रमा विद्युत आपूर्ति बन्द भएकोले खोप सेवा बन्द भएको हो । खोप सेवा बन्द भएपछि भिमफेदी गाविसका १ सय ५० सहित सेवा क्षेत्रका करिब ४ सय ५० बालबालिका खोपबाट वञ्चित भएको स्वास्थ्य केन्द्रका डाक्टर विकास भट्टराइले जानकारी दिए । स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा मकवानपुरको इपा, कोगटे, भमिफेदी र निबुवाटार गाविस रहेका छन् । विद्युत आपूर्ति नियमित नभएपछि स्वास्थ्य केन्द्रले प्रदान गर्ने सुत्केरी सेवा पनि  प्रभावित भएको डाक्टर भट्टराइले बताए  ।
खोप सुरक्षितको लागि फ्रिज गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द भएसंगै बालबालिका खोपबाट वञ्चित भएकाहुन् । स्वास्थ्य केन्द्रमा विद्युतपुनः जडान गर्नका लागि महशुल बक्यौता भएको भन्दै प्राविधकरणले जडान नगरिदिएको स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका सदस्य सुरेन्द्रराज थिकेले जानकारी दिए । स्वास्थ्य केन्द्रमा रहेको खोप लगायत प्रयोगशालाको औषधि पुर्ण रुपमा बिग्रने अबस्थामा रहेको सदस्य थिकेले बताए । बालबालिकालाई अनिवार्य लगाउनु पर्ने मिजल्स, बिसीजी, डिपीटी, पोलियो, जेइ लगायत अत्ति आवश्यक खोपहरुहरु फ्रिजमा राख्नू पर्दछ । खोपहरु मध्ये पोलियो, बिसीजीलगायतका खोपहरु माइनस तापक्रममा राख्नु पर्ने स्वास्थ्य केन्द्रका डाक्टर भट्टराइले बताए । खोपको प्रकृति अनुसार तोकीएको तापक्रममा नराखे खोपले काम नगर्ने डाक्टर भट्टराइले बताए । लामो समयसम्म बालबालिकाले खोप लगाउन नपाउँदा नलगाएकै कारण भविष्यमा बालबालिकाको मृत्यू समेत हुन सक्ने उनले बताए । हेटौडा कुलेखानी काठमाण्डौको अति संमबेदनसिल मार्गको मुख्य आपतकालीन उपचार केन्द्र रहेको स्वास्थ्य केन्द्रमा सेवा प्रभावित भएको हो । 
स्वास्थ्य केन्द्रले आर्थिक स्रोतको अभावमा वि.सं. २०५५ साल देखि विद्युत महशुल प्राधिकरणलाई भूक्तानी गरेको छैन । हालसम्म करिब आठलाख भन्दा बढि बक्यौता रहेको नेपाल विद्युतप्रधिकरण फ्युज शाखा भिमफेदीका प्रावधिक सिताराम पुडासैनीले बताए । महशुलका भूक्तानीका लागि जिल्ला स्वास्थ कार्यालयलाई अनुरोध गर्दा किस्तामा दिन सक्ने बताए पनि प्राधिकरणले २० प्रतिशत बक्यौता नदिए लाइनन जोड्ने बताएको छ । यद्यपी स्वास्थ्य कार्यालयले तत्काल भने क्यौताको २० प्रतिशत रकम दिन नसक्ने प्रतिक्रिया दिएको स्वास्थ्य चौकीका अध्यक्ष बद्री सापकोटाले बताए । उनले भने–‘सरकार टिकटको समेत पैसा नलई निःशुल्क स्वास्थ्य सेवा दिन भन्छ, स्वास्थ्यमा जिल्लाले विद्युत महशुल समेत दिदैन कसरी स्वास्थ्य सेवा  दिने ?’ 

All news in One Place