मकवानपुरको टिष्टुङमा पुनःनिर्माण शुरु

मकवानपुरको भुकम्प प्रभावित क्षेत्र टिस्टुङमा भुकम्प प्रतिरोधी स्थायी आवास निर्माण सुरु भएको छ । भुकम्पका बेला २० घण्टासम्म पुरिएकी टिस्टुङ गाविस ७ की सविना घलानले पुर्ननिर्माण अभियानको सिलान्यास गरेकी हुन् । 
गैरसरकारी संस्था टिएर फन्डको सहयोग र राडो नेपालको प्राबिधीक सहयोगमा टिस्टुङ गाविस ६ बसन्तकी ७२ वर्षिया ठुलीमाया स्याङ्तानको घर निर्माणका लागि सिलान्यास गरिएको हो । टिएर फन्डका कन्ट्री डाईरेक्टर दावा निष्ठा, शहरी विकास तथा भवन निर्माण विभागकी इन्जीनियर प्रतिष्ठा मानन्धरले संयुक्त रुपमा भवन सिलान्यास गर्नुभएको हो । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण मन्त्रालयले तयार पारेको मापदण्ड अनुसार भवन निर्माण हुने बताईएको छ । पहिलो चरणमा टिस्टुङमा तीनसय र आग्रा गाविसमा तीनसय भवन निर्माण गरिने राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताउनुभयो । 
यस्तै नमूनाका रुपमा दुबै गाविसमा गरी थप ३९ वटाघर निर्माण हुने भएको छ । टिस्टुङका गाविस सचिब राजेन्द्र चौलागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, एमाओवादीका जिल्ला अध्यक्ष प्रेम बहादुर पुलामी, राप्रपा नेपालका नवराज विष्ट, जनमोर्चाका लक्ष्मण विष्ट, जिल्ला विकास समिती मकवानपुरका योजना अधिकृत किसन न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

-शब्द/तस्वीर: बालकृष्ण अधिकारी

All news in One Place