जनसंख्या व्यवस्थापनमा जोड
महिला, बालबालिका र विपन्नवर्गको समुचित विकासका लागि जनसंख्या व्यवस्थापनमा जोड दिइएको छ ।
जनसंख्या र विकासका लागि सांसद्हरुको राष्ट्रिय मञ्च काठमाडौंको आयोजना तथा रेडियो मकवानपुर १०१ दशमलव ३ मेगाहर्जको संयोजनमा हेटौंडामा भएको नीतिनिर्माण र विकासको पहुँचमा महिला, बालबालिका र विपन्न वर्गसम्बन्धी एक दिने कार्यशाला गोष्ठीका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा वक्ताहरुले नेपालको नयाँ संविधानले महिला, बालबालिका र विपन्नवर्गको क्षेत्रमा धेरै विषयवस्तु समेटिएको भएपनि त्यसको कार्यान्वयनमा मुख्य विषय भएको बताए । कार्यक्रमकी प्रमुख अतिथि व्यवस्थापिका संसद्का सदस्य, विकासका लागि सांसद्हरुको राष्ट्रिय मञ्च अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले संविधानमा महिला, बालबालिका र विपन्नवर्गका निम्ति धेरै विषय उल्लेख भएको तर्क गर्दै संविधानमा उल्लेख भएका विषय कार्यान्वयन हुनु आवश्यक रहेकोमा जोड दिइन् ।
‘संविधानमा उल्लेख हुनुमात्र ठूलो कुरा हैन रहेछ’, उनले भनिन्, ‘कार्यान्वयन मुख्य कुरा हो । यस विषयमा सबैले ध्यान दिनु आवश्यक छ ।’ उनले समाजमा अझैपनि पक्षपाति क्रियाकलाप विद्यमान रहेको दाबी गरिन् ।
सांसद् धनीराम पौडेलले जनसंख्या व्यवस्थापन विकासको अवधारणा भएको तर्क गर्दै यस विषयमा सरोकारवालाको विशेष ध्यान जानु आवश्यक रहेको बताए । संविधानले राष्ट्रको प्रमुख पदमा महिलाको नेतृत्व हुनसक्ने अवस्था सृजना गरेको भन्दै उनले नेपालको राष्ट्रपति र सभामुखमा महिला नेतृत्व हुनुले यसको पुष्टि गरिसकेको उदाहारण प्रस्तुत गरे । पछिल्ला समय विकास र नीतिनिर्माण तहमा महिलाको पहुँच अभिवृद्धि भइरहेको भएपनि त्यो सन्तोषजनक नभएको सांसद् पौडेलको भनाइ छ ।
रेडियो मकवानपुर सञ्चालन समितिका अध्यक्ष आनन्दाराम पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सांसद् भिष्मराज अधिकारी, नेपाली काँग्रेस जिल्ला सभापति रघुरमण न्यौपाने, नेकपा एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, एकीकृत नेकपा माओवादी मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नवराज बिष्ट, राप्रपा मकवानपुर ३ नम्बर क्षेत्रीय अध्यक्ष सीताराम बर्तौला, नेकपा माले मकवानपुर सचिव भीमसेन महत, नेकपा माओवादी क्रान्तिकारीका कमानसिंह पाख्रिन पृथक, नयाँ शक्ति अभियान मकवानपुर संयोजक प्रह्लाद लामिछाने, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष विनोद रिजाल, पुनरावेदन वार एसोसिएसन हेटौंडा अध्यक्ष गोपालप्रसाद आचार्य लगायतले नीति निर्माण र विकासको पहुँचमा महिला, बालबालिका र विपन्नवर्गका विषयमा धारणा राखेका थिए ।
कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले मकवानपुरका महिला तथा बालबालिकाको वर्तमान अवस्था विषयक कार्यपत्र, मकवानपुरको स्थानीय विकास अधिकारी लक्ष्मणविक्रम थापाले वर्तमान परिस्थितिमा महिला, बालबालिका तथा विपन्नवर्गको विकास, सहभागिता र पहुँच विषयक कार्यपत्र, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख दीपक तिवारीले वर्तमान परिस्थितिमा महिला तथा बालबालिकाको स्वास्थ्य अवस्था र पहुँच विषयक र महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शोभा शाहले महिला, बालबालिका तथा विपन्नवर्गको विकासमा सरकारको वर्तमान नीति र कार्यक्रम विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।