साइकल सर्रर

देबेन्द्र वस्न्यात
    हामी पाँच भाइ विजय गुरुङ, उमेश ढुंगाना, नवराज राउत, राजीव थापा र म यस्तै गन्थन गर्दै थानकोट पुरानो चेकपोस्ट, गोदामचौर, पानीघाट हुँदै चन्द्रागिरि भञ्ज्याङतिर उकालो लाग्यौं । चित्लाङ (इन्द्रसरोवर पदयात्रामा हिँडेका थु
प्रै तन्नेरी भेटिए बाटोमा । ५०–६० जनाको ठूलै समूह।
    पदयात्री बहिनीले एउटा साइकलेलाई बिस्कुट र चकलेट दिइन्। अरू लोभिए। गुलिया बिस्कुट, चकलेट र मिठा कुराले सहयात्री भाइका साइकलका पांग्रा बोझिला भए। साइकलेलाई पदयात्रीसँग नजिकिने आस पलायो। गफ गर्दै हिँडे। थानकोट पुरानो चेकपोस्टबाट चन्द्रागिरि भञ्ज्याङसम्मको करिब ११ किमि दुरी तय गर्न दुई घन्टाभन्दा बढी लाग्यो । ढिला गरी हिँडेका उज्ज्वल थापा भने अझै बेखबर थिए।
   उपत्यका घेर्ने अग्लो पहाड मध्य चन्द्रागिरि। भञ्ज्याङमै एउटा पुरानो छ््योर्तेन छ । सँगै खाजा पसल पनि । सधैंजसो पाइने मूला र केराउको अचार यहाँको विषेशता । साथमा चिया, चना, आलु, चिउरा, सुकुटी र आइराक पनि। यहाँबाट छ किमि ओरालो झरेपछि पुरातात्विक महत्वको चित्लाङ गाउँ पुगिन्छ।
   फूलमा लठ्ठ परेको भमराजस्तै सहयात्री अलमलिए, पदयात्रीसँग । पानी खाने छोटो विश्रामपछि साइकलको अवस्था जाँच गर्यौं । पदयात्री भाइ–बहिनीहरूलाई शुभयात्रा भनेर दुरी छोट्याउन ओरालो हुइँकियौं । चित्लाङ उपत्यकाको सुरुमै ट्राउट माछा फार्म छ । मूलबाटो छाडेर   पुरानो पैदल मार्गबाट बस्ती छिचोल्यौं। अप्ठ्यारो बाटोमा चलाउन पोख्तले आफ्नो कौशल देखाए। सिकारुले सिप तिखारे । ढुंगेधारामा पानीको प्यास मेटाए। फोटा खिचाए। भूकम्पले क्षति पु¥याएको पुरानो बस्ती हुँदै अघि बढ्यौं ।
   प्राचीनकालदेखि नै हिन्दु स्थान लगायत अन्य मुलुकबाट नेपाल हुँदै तिब्बत जोड्ने यो बाटो। हिन्दुस्थानी सम्राट अशोककालीन २,३०० वर्ष       पुरानो चैत्य प्रमाणस्वरूप अझै हेर्न पाइन्छ।        हरेक पटक आउँदा लाग्छ–पूर्वजन्ममा पनि यो बाटो पटक–पटक हिँडेको छु। अझै पनि उस्तै छ। सधैं यस्तै छ।
    त्रि–गजुरेश्वर महादेव स्थान, स्वच्छन्द       भैरव, अशोक चैत्य, सातधारा, नारायणहिटी, बाख्राको चिज आदि यहाँका प्रमुख आकर्षण हुन्। दक्षिणपट्टि भिरालो परेको न्यानो चित्लाङ उपत्यकाको प्राकृतिक सुन्दरता अत्यन्तै मनमोहक छ। यहाँ घरबास व्यवस्था पनि छ। नारायणहिटीबाट पाँच किमिको दुरीमा भेडा फार्म छ। यसको करिब दुई किमिमा मार्खु–इन्द्रसरोवर। निकै राम्रो । निकै रमाइलो। देशकै ठूलो मानवनिर्मित ताल । तालको डिलैमा खाना र बासको व्यवस्था पनि छ। क्यम्पिङका लागि पनि प्रशस्तै ठाउँ छन्, सरोवर छेउछाउमा।
   हाम्रो गन्तव्य दामन–सिमभञ्ज्याङ। नारायणहिटीबाट दायाँ लाग्यौ । करिब दुई–तीन कि.मि.मा अर्को           रमाइलो गाउँ बिसिंखेल । यहाँ चम्पेश्वर महादेव मन्दिर पनि छ । जैतुन खेतीका लागि प्रसिद्धि कमाएको ठाउँ । बिछट्टै रमाइलो भूगोल । फोटो खिच्ने मन हुँदाहुँदै पनि साइकलका ब्रेक लागेनन् । गफमा मस्त हँुदै एकनास पाउदान चालिरह्यौं। बिसिंखेलबाट करिब पाँच कि.मि. दुरीमा लिच्छविकालीन सहर बज्रवाराही आउँछ । यहाँ नेवारी खाजा पाइन्छ। बजार कटेर अलिपर चौर मुन्तिर सतीदेवीको पीठ पतन भएको शक्तिपीठ छ।
थाहा नगरको कुन्छाल–कुलेखानी सडक खण्डमा साइकल यात्रा गर्दै ।
   कुन्छालको उकालो लाग्दा समय पर्वाह नगरी गोपाली गाउँ र बज्रवाराहीको तस्बिर खिच्नमा मस्त भयौं। ठाउँठाउँमा पैंयुँ फुलेकाले कम्ता राम्रो देखिएन। आँखा झिमिक्कै नगरी हेरिराखूँ जस्तो । मन नअघाउने। बज्रवाराहीबाट चार कि.मि. हल्का उकालो पार         गरेपछि त्रिभुवन राजपथ भेटिन्छ। हाम्रो गन्तव्यमा पुग्न अझै १५ किमि बाँकी थियो। सुनसान, सम्म पिच बाटो । दामनले तानेको साइकले मन, त्यसै ऊर्जा भरियो । गन्तव्यमा पुग्न हतारिएर मात्रै नहुने। धैर्य र संयमता अपनाउनै पर्योत। वास्तवमा मानिसलाई साइकल चढ्ने आदतले धैर्यवान् र संयमित बनाउँछ।
   ओखर बजारको पुल तरेपछि पालुङ उपत्यका छिरियो। पुलको मुखमा बारीको पाटामा फुलेको सयपत्री फूलले विजय र राजीव भाइको क्यामेरा अड्कायो।
   हल्का उकालो सुरु भयो। उकालो दामन, सिमभञ्ज्याङ पुगेर मात्र निख्रन्छ। शिखरकोटमा युगशेर दाइ, गुप्तबहादुर दाइ, नरेन्द्र भाइ, विनोदजी      पर्खिरहेका थिए । युगशेर दाइलगायत सबैले आत्मीय स्वागत गरे । गुप्त दाइले अबेर पुगेका साइकलेलाई तातोतातो, ताजा खाना खुवाए।
   शिखरकोटमा पर्याप्त खाने र बस्ने सुविधा छ। समय र शरीरमा ऊर्जा बाँकी भए प्राचीन, ऐतिहासिक पालुङ सहर र पाण्डुकेश्वर महादेव स्थान घुमेर उकालो लाग्न सकिन्छ। शिखरकोटबाट करिब चार किमि भित्र छ। शिखरकोट–दामन नौं कि.मि.।
   घाम डाँडापारि जान हतारिएसँगै हामी पनि नौं किमि उकालो बाटो सामना गर्न जुरमुरायौं। नागबेली उकालो। हिमाल, पहाड र उपत्यका हेर्दै जाँदा थकाइ अनुभव हुँदैन। डाँडासँग लुकामारी खेल्दै घाम डुब्न लाग्यो। क्यामेरामा लुकाउन भ्याइएन। थकथक माने, समयको ख्याल नगरेकोमा।
   हिउँदका दिन। साँझ छिप्पिँदै गयो। दामन पुग्दा झमक्कै अँध्यारो भयो। गफ मार्दै जाँदा डेढ घन्टा लाग्यो । दामन (२,३२२ मिटर) । भ्यु–टावर,          गौरीशंकर होटललगायत यहाँ खाने र बस्ने ठाउँ छन्। निकैपछि परेका उज्ज्वल अझै बेखबर थिए। आठ बजे साँझ गुप्त दाइले दामनसम्म ल्याइदिए। हाँसखेल, रमाइलो, ठट्टा गरे। दुःख–सुखका कुरा     गरे। स्थानीय साथीसँग अबेरसम्म खानपिना र गाना जम्यो। भूकम्पले धेरैका घर भत्किएका छन्। टिनको कटेरीमा चिसा रात गुजार्नुपरेको छ । दुःख बिर्सिएर हाँस्न सक्नु पनि ठूलै कुरा हो। हामी नेपालीको स्वभाव काँडाको बोटमा फुल्ने गुलाब र हिलोमा फुल्ने कमलको फूलजस्तै कोमल र सुन्दर छ।
   दोस्रो दिन उठ्यौं झिसमिसेमै। लाग्यौं उँचो ठाउँतिर हिमालका चुचुरामा लाली भर्दै उत्रिने घाम क्यामेरामा लुकाउन । खुलेन हिमाल । बादलको पर्दा पछाडि पर्योउ । दामन पुगेपछि भ्यु–टावरबाट हिमाल हेर्ने, शीतोष्ण बागबानी नर्सरी, पर्वतीय वनस्पति उद्यान, ऋषेश्वर महादेव स्थान, छिमी ज्यामछुक गुम्बा हँुदै सिमभञ्ज्याङसम्म पैदल यात्रा नगरे      अपुरो हुन्छ।
    चिसो हावा । कलिलो घाम । बिहानीको    चिरबिरे गीतमा मस्त चरा हेर्दै लाग्यौं ऋषेश्वर, गुम्बा र सिमभञ्ज्याङको उकालो । ऋषेश्वर हिन्दु र बौद्ध धर्मवलम्बीको समान आस्था केन्द्र । धार्मिक सहिष्णुताको नमुना। गुरु पद्मसंभवले तपस्या गरेको ठाउँ। बाटोबाट एक किमिभित्र छ। मन्दिर दर्शनपछि गुम्बामा गयौं। भूकम्पले गुम्बा भत्किएको छ। गुम्बाका लामा ध्यानमा भएकाले भेट हुन सकेन। गुम्बाकी छेकी दिदीले भोटे चिया खुवाइन्। यहाँ जाने कोही विमुख फर्कनु पर्दैन।
गुम्बा नजिकैबाट सिमभञ्ज्याङ उकालो लाग्ने पदमार्ग छ। साइकल बाटोमै भएकाले पुनः त्यही बाटो फर्कियौं। सिमभञ्ज्याङ, मकवानपुरकै सबैभन्दा उँचो ठाउँ। रातभरको शीतले भिजेको भुइँमा न्यानो घामको स्पर्शले सरर्र भुइँकुहिरो उठ्यो। उत्तरबाट चलेको मन्द हावासँगै दौडिएको कुहिरोमा साइकल सरर्र कुदायौं। शब्दले वर्णन गर्नै नसक्ने आनन्दानुभूति गर्यौउ। तस्बिर खिचायांै। फर्किएर पुनः दामनबाट सुनगाभा मार्ग हुँदै कुलेखानी लाग्यौं।
    शान्त, पातलो गाउँ । कच्ची, ओरालो धुले बाटो । पदयात्रा र साइकल कुदाउन वरदानै। दामनबाट मार्खु ११ किमि। मार्खु झर्दा डाँडाबाट देखिने कुलेखानीको सौन्दर्यले त्यसै भुलाउँछ। डाँडाको फेदी। तालको छेउ। पहेँलपुर तोरीको मगमग बास्ना। गोरेटोबाट साइकल कुदाउनु त जिउँदै स्वर्ग पुगेको अनुभूति हुने!
   मार्खु झोलुंगे पुलबाट सिम्लाङ हुँदै कलंकीसम्मको दुरी सात किमि। इन्द्रसरोवरको किनारै किनार। मार्खु, सिम्लाङ, कलंकीमा खाना र बास पाइन्छ। यता कुलेखानीको माछा चाख्नु बेस। कलंकीबाट दायाँ लागे बाँधको बाटो चिसापानी गढी, भीमफेदी हुँदै हेटौंडा जान सकिन्छ। बायाँतर्फको बाटो फाखेल, हुमाने भञ्ज्याङ, फर्पिङ हुँदै बल्खु ४२ किमि। चखेल, देउराली, मातातीर्थ हुँदै सतुंगलको दुरी करिब २२ किमि। कुलेखानीबाट कलंकी आइपुग्दा शरीरको ऊर्जा करिब निस्तेज भइसकेको थियो। माछाको झोलसँग भात खायौं। साइकले साथीलाई कम खाना खान अनुरोध गरेँ। बाघको सिकार खोस्न लागेझैं भयो। सुनीजान्ने भन्दा गरीजान्ने बेस। बाटो काट्दै गर्दा भरपेट भात खाएर साइकल चढ्न गाह्रो हुने थाहा पाएँ। अनुभवले नै मानिसलाई परिपक्व बनाउँछ। दुई पहाडका खोँच हँुदै सलल बगेको पाँच किमि नागबेली बाटो काटेर हामी बायाँ मोडियौं     चखेलतिर।
    संघारमै आइसकेको तिहार। भूकम्पबाट बचेका घर सेता कमेरा र रातामाटाले लिपेका। आँगनका डिल र पाखाका कान्लामा ढकमक्क सयपत्रीको सौन्दर्य। आँखाले भ्याएसम्म डाँडाका थुम्काथुम्कामा देखिने पहेँलपुर तोरी। पहाडको खोँचबाट बगेको सानो खोल्साको समानान्तर तर विपरीत      बिस्तारै उकालो लाग्यौं।
    छ किमि गाउँको मन्द बाटो काटेपछि       करिब चार किमि अलि उकालो लाग्नुपर्छ।     अँध्यारो भयो। छ जना एकै ठाउँमा जम्मा भयौं। बिस्तारै उकालो काट्यौं सँगसँगै। करिब सात बजे देउराली पुग्यौं। ‘यहाँ अर्डर गरे खाना, लोकल कुखुरा, आइराक सबै पाइन्छ। उज्यालो भएको भए ऐतिहासिक रज्जुमार्गको बिसौनी हेर्न पाइन्थ्यो। इच्छालाई उधारो राख्यौं। तातो चिया खायौं।    ओरालो लाग्ने जमर्को गर्यौं।’
   कात्तिक महिना । औंसीको रात । अप्ठ्यारो, कच्ची जंगलका बाटा । तर निकै रोमाञ्चकारी । रातको समय । तिहारको समय । उपत्यकाको झिलीमिली टाकुराबाट हेर्दा निकै रमाइलो। छैन हता
रो । फोटो खिच्नै व्यस्त भएँ। घरै पुग्ने त हो नि! छुचुन्द्रो ताँतीजस्तै लामबद्ध भएर पिलपिले बत्तीको सहारामा ओरालो लाग्यौं चकमन्नमा। बाटोमा वन्यजन्तु भेटिन सक्छ । सात किमि एकनासको ओरालो लागेर सतुंगल आइपुग्यौं।
   एक रात दुई दिनको साइकल यात्रापछि पुनः काठमाडौंको कोलाहलमा छिर्यौं। आँखा, मन मस्तिष्कभरि रमाइला सम्झनाले भरिएका छन्। नवराजले भने छोटो समयमा यति धेरै अनुभव कहिल्यै भएको थिएन। अब मलाई जहाँ जान पनि सक्छु भन्ने आँट आयो दाइ । विचित्रै लाग्छ। साइकलमा घुम्ने रस बसेपछि अरू साधनपट्टि त कत्ति पनि मन नजाने। अब अर्को नयाँ ठाउँमा जाने योजना बनाउदै छुट्टियौं हामी आ–आफ्ना घरतिर।

All news in One Place