ओलीको अडानले राष्ट्रिय एकता थप बलियो

धर्मेन्द्र दाहाल |
छतिवन/नेकपा एमालेका युवा नेता तथा पूर्व मन्त्री महेश बस्नेतले केपी ओली नेतृत्वको सरकारले देशमा नयाँ आशाको सञ्चार गरेको जनाएका छन् । ओली सरकारले भारत भ्रमणमा राखेको अडान तथा मधेश आन्दोलनप्रतिको अडानले देशलाई अझ शसक्त तथा राष्ट्रिय एकतालाई थप बलियो बनाएको उनले दाबी गरेका छन् । 
शनिबार पूर्वी मकवानपुरको छतिवनमा भएको युवा संघ नेपाल छतिवन गाउँ कमिटीको ११ औ गाउँ अधिवेसन उद्घाटन गर्दै पूर्व मन्त्री बस्नेतले देशलाइ बन्धक बनाउन खोज्नेहरुलाई बर्तमान सरकारले झापड हानेको बताए । संविधान निर्माण भैसकेको अवस्थामा देशमा विकासको लहर फैलनुपर्नेमा केहि मधेशवादी दलहरुले आन्दोलनको नाउँमा देशको राष्ट्रियतामाथी नै खलल पुग्नेगरी कार्य गरेको बस्नेतले बताए । मुलुक अब आर्थिक उन्नतीको पथमा अग्रसर हुनुपर्नेमा उनले जोड दिएका छन् । बेरोजगार युवालाई राज्यद्वारा रोजगारीको सृजना गर्न सरकार अग्रसर बन्नुपर्ने समय आएको बताउँदै उनले देश विकासमा युवाको भुमिका महत्वपूर्ण हुने बताए ।
भेलाले प्रकाश वाईवाको अध्यक्षतामा १९ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्षमा विश्वास स्याङ्तान, सचिव गगन अधिकारी, सहसचिव सौगात भोलन तथा कोषाध्यक्षमा अमिता विश्वकर्मा चयन भएको युवा संघ मकवानपुरका सचिव लक्ष्मण उप्रेतीले बताए । कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष हिदम लामा, एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नं १ इन्चार्ज कमल विष्ट, एमाले जिल्ला सदस्य दलबहादुर वाईवा, बैकल्पीक जिल्ला सदस्य प्रेमबहादुर डिम्डुम, युवा संघ नेपाल मकवानपुरका अध्ययक्ष सन्तोष चौँलागाई, उपाध्यक्ष किरणमान बल, सचिव लक्ष्मण उप्रेती , एमाले क्षेत्र नं १ अध्यक्ष नारायण तिमल्सिना, पूर्व अध्यक्ष बेलप्रसाद दाहाल लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ८७ जना युवा एमालेमा प्रबेश गरेका छन् ।

All news in One Place