बालिका सम्मेलनः बालविवाह अन्त्य गर्ने प्रतिबद्धता
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल बालिका सम्मेलन २०७२ को उद्घाटन गरेकी छन् । बेलायत सरकार, संयुक्त राष्ट्रसङ्घीय बालकोष तथा संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषको आर्थिक तथा प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले ‘सक्षम बालिकाः समृद्ध नेपाल’ नाराका साथ पहिलोपटक सम्मेलन आयोजना गरेको हो ।
बालविवाह अन्त्यका लागि आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गर्न आयोजित सम्मेलनमा सरकारका विभिन्न मन्त्रालयका उच्च अधिकृत, दातृ निकायका प्रतिनिधि तथा कालिकोट, बैतडी, बाँके, बर्दिया, बझाङ, मकवानपुर, नवलपरासीलगायतका १५ जिल्लाका ५९ बालबालिका सहभागी छन् ।
तीन दिनदेखि जारी सम्मेलनमा बालविवाह अन्त्यका लागि नीति र कानुन कार्यान्वयन, सामाजिक कुरीति र अभ्यासको परिवर्तन, किशोरकिशोरी तथा युवाको आवाजः किशोरकिशोरी तथा युवाको गरेको अभियान, किशोर र किशोरीसँग र उनीहरुका लागि नै कार्यशाला विषयक अलगअलग सत्रसमेत सञ्चालन भएका छन् ।
विश्वको प्रमुख सामाजिक समस्याका रुपमा रहेको बाल विवाहलाई सन् २०३० सम्ममा अन्त्य गर्ने विश्वव्यापी प्रतिबद्धतामा नेपालले समेत प्रतिबद्धता जनाएको छ । यसका लागि महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले रणनीतिसमेत तयार गरी कार्यान्वयनमा ल्याएको छ ।
अठार वर्षमुनिका बालिका शारीरिक तथा मानसिकरुपमा आमा तथा श्रीमती बन्न तयार नहुने भए पनि १५ वर्षदेखि २४ उमेर समूहका १० मध्ये दुईजना महिलाको विवाह १५ वर्ष नपुग्दै हुने गर्दछ । यसैगरी २० देखि ४९ उमेर समूहका १० महिलामध्ये पाँच जनाको विवाह १८ वर्ष नपुग्दै हुने गर्दछ ।
नेपालको पछिल्लो कानुनले महिला र पुरुषका दुवैको लागि विवाहको न्यूनतम उमेर २० वर्ष निर्धारण गरेको छ ।
बालविवाह अन्त्य गर्न शिक्षामा जोड दिनुपर्छः राजकुमार ह्यारी
नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ह्यारीले सम्मेलनलाई सम्बोधन गर्दै नेपालका प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारी, अमेरिकी प्रथम महिला मिचेल ओवामा र बाल शिक्षा अभियानकर्ता मलला युसुफ विश्वका अनुकरणीय महिला व्यक्तित्व भएको बताएका छन् ।
“तल्लोस्तरबाटै परिवर्तन हुन आवश्यक छ, प्रत्येक परिवार तथा समुदायमा रहिआएको महिला तथा बालिकाप्रति पूर्वाग्रह परिवर्तन नभएसम्म उनीहरुको अवसरको ढोका खुल्दैन” अमेरिकी प्रथम महिला ओबामाको भनाइ उद्धृत गर्दै उनले भने ।
राजकुमार ह्यारीले आम बालिकाले भोग्दै आएको चुनौतीका सम्बन्धमा प्रकाश पार्दै विश्वमा ६ करोड २० लाख बालिका शिक्षाबाट वञ्चित हुनुपरेको, ८० करोड महिलाले पढ्न र लेख्न नसक्ने, ७० करोडको बालविवाह हुने गरेको र तीमध्ये २५ करोड बालिकाको १५ वर्षभन्दा कम उमेरमा विवाह हुने गरेको उल्लेख गरे ।
उनले नेपालमा पनि कम उमेरमा विवाह हुने अवस्थालाई अन्त्य गर्न र २० वर्षभन्दा कम उमेरमा नै बालबच्चा जन्माउने अवस्थालाई अन्त्य गर्न शिक्षामा जोड दिनुपर्ने बताए ।
सानै उमेरमा विवाह हुँदा उनीहरुले विद्यालयको शिक्षा नपाउने, उनीहरुको शैक्षिक चक्र समाप्त हुने र गरिबी, कमजोर स्वास्थ्य र निरीह बन्नुपर्ने भएकाले यसको अन्त्य गर्न शिक्षाबाट मात्र सम्भव रहेको बताए ।
उनले भने, “शैक्षिक पहुँचमा सुधारले मात्र जीवन, परिवार, समुदाय एवम् समग्र देशको परिवर्तन हुन्छ । जब बालिकाले विद्यालयको शिक्षा पाउँदछिन्, अनि मात्र सीप, ज्ञान र आत्मविश्वास प्राप्त गर्छन् । उनीहरुले जीवन तथा अन्य जनजीवन परिवर्तन गर्न सक्दछन् ।”
उनले नेपालले आफ्नै जटिल सामाजिक चुनौतीको बाटो खोजिछाड्ने आफूलाई विश्वास भएको बताए ।
नेपालका राष्ट्रपति तथा सभामुख दुवै महिला भएकाले आगामी दिनमा बाल बालिकाका लागि महत्वपूर्ण प्रेरणा हुने उनले विश्वास व्यक्त गरे ।
फोटो सौजन्य : प्रकाश खतिवडा
-हिमालबाट
-हिमालबाट