व्यापार मेलामा कृषि परिसर नै बनाइने
शिव चौलागाई/
हेटौंडामा यहि फागुन २० गतेबाट हुन लागिरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा कृषिजन्य प्रदर्शनीका लागि विशेष तयारी गरिएको छ । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागिरहेको मेलामा जिल्ला कृषि कार्यालय मकवानपुरको समन्वयमा कृषिजन्य उत्पादनका २० वटा भन्दा बढी स्टल राख्ने तयारी भएको मेलाका कृषि स्टल व्यवस्थापन समिती संयोजक माधव ज्ञवालीले जानकारी दिए ।
मकवानपुरका गाउँ गाउँका करिब ३ सय प्रकारका कृषि उत्पादनलाई समेटेर कृषिसम्बन्धि स्टलहरुको कृषि परिसर नै खडा गरिने उद्योग वाणिज्य संघका महासचिव महेन्द्र राउतले जानकारी दिए । मेलामा कृषिका तरकारी, फलफूल, खाद्यान्न बाली, नगदेवाली, आलु, माछा, मसला लगायत दश विधामा उत्कृष्ट हुनेहरुलाई नगद सहित पुरस्कार समेत प्रदान गरिने कृषि कार्यालय मकवानपुरको तयारी रहेको जनाइएको छ । मेलामा कृषिका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका जानकारी मूलक स्टल समेत रहने जनाइएको छ ।