बिऊ गाड्ने त ?
पुस फासफुस, बलियाबाङ्गा बाघलाई, लुते लाङ्ग्रे माघलाई भन्थे बुढापाकाले । के होला त नि यस्तो भन्ने लाग्या त सबैभन्दा दिन छोटो हुने महिना पुस भा भ’र पो र’छ त । अनि चाइनेजो के भन्दाखेरिमा पुस भन्दा जाडो माघ हुने भ’र लुते लाङ्ग्रे माघलाई र’छ । त्यहि भ’र यो पुसाँ क्यै पनि नयाँ काम नथाल्नु है भन्या रछन् । नगर्नु भनेर क्यार्न पो सकियो र काम नगरी भएन । मुखाँ बुझो लाउन परिगो । मुखाँ बुझो लाउनै भएनी काम गर्नै परेसी यो मैना र त्यो मैना गरेर बस्न नि भएन । काम गर्नलाई यसो त्यसो भन्न नि भएन । उसो त पुसाँ कसैको सुन्न भन्न वा गर्न भ्याइन्न भन्ने सारा कुरा छ । तर ट्वामेलाई त्यसो पटक्कै लागेन उत्तरी मकान्पुरको पुसको झल्कोलाई दुरविनले नियाल्दा यो माघाँ झन कस्ले के गरिराका छन् भन्ने चियोचर्चो र त्यस्तो काम कसरी दायाँ बायाँ पार्न सकिएला भनेर लाग्नेको लर्कन फेला पर्यो । आफ्नो काम नभ्याका बेलाँ कसरी अरुको कामलाई बाँदरी पारा गर्न भ्याछन् भनेर ट्वामेलाई एकछिन भएनी गम खानपरो ।
जस्ले गरे नि सेवा हो जनताको, मन जिते जनताको अरु के गर्न परो र भनेर सोच्दै के गर्या थे ट्वामेले टिरिरिरि मोबिलाँ घण्टी बज्यो । ट्वामे झस्किंदै हल्लो भन्दै थे, ट्वामेको अनुहार निलो कालो भो । भयो के भन्दाखेरि भर्खरै आलुको खेति गरि भ्याको गोठबारीमा एक हुल कुकुरहरु पसेर खुँदेर उल्कापातै गरेछन् रे । कुरो बुझ्दैजाँदा कुकुरहरु पस्या होइनन् हुल्या पो र’छ रे त, किन हुल्या यो बारीमा ? वीउ उठाउन मुश्किल पर्छ झरी पर्दा त अब त खत्तमै हुने भो नि । त्यत्रा फाँटहरुमा भको आलुबारीमा कुकुर हुल्न नपर्या यस्तो पाखोबारीमा किन हुल्न पर्या हो ? च्या पसलाँ गाइंगुईं सुनिन थाल्यो ट्वामेले यसपाली फस्टाँ नै आलुको वीउ गाड्यो रे । गाड्या वीउ अवैधानिक रे त । यो बैधानिक र अवैधानिक भनेर पत्ता लगाउने ट्याम कतिखेर पायो खुट्याउनेले ? बल्ल कुरोको चुरो पत्ता लगायो ट्वामेले । अब काम त धेरै बरु यै माघाँ पो हुँदो र’छ त । एका थरी काम गरिरहने, अनि अर्काथरी चाहिं गरेको कामलाई वल्टाइपल्टाई गर्न खोज्ने । बरु भन्या भए त भै हाल्थ्यो नि यसो भ’र तेरो आलुको वीउ अवैधानिक, अब देखि यस्तो नहोस भनेर सिधै कुकुर हुल्न किन परो र । संसाराँ सबै कुरो प्रतिस्पर्धा नै र’छ । अब आफूले राम्रो गर्न नसके नि अरुको विगारो भने त जसरी नि आफू अगाडि......... काम नगरी अगाडि हुने यो पारा फिलिमाँ मात्र देखेको ट्वामे आफैलाई परिल्याउँदा मट्याङ्ग्रा लाग्या चरो जत्तिकै भै गो । फत्रक फत्रक पर्दै ट्वामेले उखान फुसफुसायो, एकाथरीले
आफ्नो घर पनि बनाउँदैन, ट्वामेको घर पनि बनाउन दिंदैन । उही दामनको हिउँ जस्तो ।