मकवानपुरका एसएलसी दिने किशोरी विद्यार्थीलाई ‘सेनेटरी प्याड’
मकवानपुरबाट प्रवेशिका परीक्षामा सहभागी हुने किशोरीहरुलाई पहिलो पटक ‘सेनेटरी प्याड’ वितरण गरिने भएको छ । ‘सेनेटरी प्याड’ केन्द्राध्यक्षहरु मर्फत परीक्षा केन्द्रहरुमा पाइएको छ । महिनावारी भए परीक्षा दिन सहज होस् भन्नाका लागि ‘सेनेटरी प्याड’ उपलब्ध गराइने जिल्ला शिक्षा कार्यालय मकवानपुरका शिक्षा अधिकारी अम्बिका शर्माले बताए । जिल्ला शिक्षा कार्यालयले महिला विकास कार्यालयलगायत संघसंस्थासँग समन्वय गरेर किशोरीहरुलाई एक÷एक वटा ‘सेनेटरी प्याड’ उपलब्ध गराउने भएको हो ।
शिक्षा कार्यालयले परीक्षा केन्द्रहरुलाई मध्येनजर गरेर मकवानपुरको सबै २४ परीक्षा केन्द्रमा २÷२ प्याकेटका दरले ‘सेनेटरी प्याड’ शिक्षा कार्यालयले पठाएको छ । कार्यालयले ५० प्याकेट अर्थात ४०० पिस ‘सेनेटरी प्याड’ उपलब्ध गराएको हो । सो संख्या नपुग भए परीक्षा केन्द्रले नै खरिद गर्न सकिने शिक्षा अधिकारी शर्माले बताए । गतवर्ष जिल्ला शिक्षा कार्यालय कास्कीमा छँदा हाल मकवानपुरका शिक्षा अधिकारी अम्बिका शर्माले मुलुकमै पहिलोपटक ‘सेनेटरी प्याड’ वितरा गरेका थिए ।
मकवानपुरमा यसवर्ष नमूनाका रुपमा परीक्षा केन्द्रमा प्रयोगका लागि प्याड पठाइएको शिक्षा अधिकारी शर्माले बताए । ‘किशोरी विद्यार्थीहरु टाढाबाट परीक्षा दिन आउँछन्, टालो (कपडा) को व्यवस्था गरेका हुँदैनन् । प्याड उपलब्ध गराउँदा उनीहरुले तनाव झेल्नुपर्ने बाध्यताबाट मुक्ति पाउनेछन्’, जिशिअ शर्माले भने । महिला शिक्षकद्वारा परीक्षार्थी छात्रामा पुग्ने गरी केन्द्राध्यक्षमार्फत् केन्द्रहरुमा प्याड पठाइने जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।