कहिले आउँछ पैसा ?

वैशाख १२ र त्यस पछिको भूकम्पबाट पीडित भएका नागरिकको आवासिय पुनःनिर्माण कार्यमा ढिलासुस्ती भएको छ । मकवानपुरमा बढि प्रभाव परेको जिल्लाको उत्तरी क्षेत्रमा आवासिय सहयोगका लागि आएका संस्थाहरुले काम थाल्न सकेका छैनन् । भूकम्पपछि तत्काल राहतका कार्यक्रम सरकारी र गैरसरकारी संस्थाहरुले केही महीना कार्यक्रम संचालन गरेको भए पनि आवासिय सहयोगका लागि सरकारले प्राविधिक तयारी पूरा नभएको भन्दै रोकेको हो । 
सरकारले भूकम्प पीडितले बनाउने भनिएको विभिन्न १७ किसीमका नक्सा भने सार्वजनिक गरिसकेको छ । पीडितले आफ्नै लगानीमा त्यस नक्सामा आधारित भएर घर बनाउन भने पाउने छन् । तर, सरकारले भूकम्प पीडितलाई दिने भनिएको दुई लाख रुपियाँ तत्काल वितरण नहुने भएको छ । 
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रवक्ता सह–सहिच सुरेश अधिकारीका अनुसार–‘प्राविधिक कुरा मिल्न नसकेकाले कार्यक्रम स्थगित गरिएको हो ।’ अर्थ मन्त्रालयले रकम विनियोजन गरेपछि पनि स्थानीय विकास मन्त्रालय, जिल्ला विकास समिति र सम्बन्धित बैंकसँग सम्झौता गर्नुपर्ने प्रक्रिया नपुगेकाले भूकम्प पीडितलाई रकम दिन नसकिएको अधिकारीको भनाइ छ । अर्थ मन्त्रालयले घर निर्माणका लागि ६५ अर्ब रुपैयाँ प्राधिकरणलाई विनियोजन गरेको थियो । प्राधिकरणले २० फागुनमै औपचारिक कार्यक्रम गरी भूकम्प पीडितलालाई घर बनाउन पहिलो किस्ताको रकम दिने भनेको थियो तर उक्त रकम वितरण भएको छैन । 
प्राधिकरणले पहिलो किस्तामा ५० हजार, दोस्रोमा ८० र तेस्रोमा ७० हजार रुपैयाँ घर निर्माणका लागि दिने तयारी थालेको थियो ।

शिलान्यास मात्रै

मकवानपुरको भुकम्प प्रभावित क्षेत्र टिस्टुङ र आग्रा गाउँ विकास समितिमा भुकम्प प्रतिरोधी स्थायी आवास निर्माणको शिलान्यास गरी नमुना घर निर्माण कार्यक्रम मात्र संचालन भइरहेको छ । अन्तराष्ट्रिय गैरसरकारी संस्था टियर फण्डको आर्थिक सहयोग र राडो नेपालको प्राविधीक सहयोगमा मकवानपुरको टिष्टुङ र आग्रामा नमुना ३९ वटा सहित छ सय आवासिय भवन निर्माणको लागि काम अघि बढाएको थियो ।

टिस्टुङमा गाविस वडा नंबर  ६ बसन्तकी ७२ वर्षिया ठुलीमाया स्याङ्तानको घर पुनःनिर्माणका लागि शिलान्यास गरिएको गरिएको थियो । टिएर फण्डका कन्ट्री डाईरेक्टर दावा निष्ठा, शहरी विकास तथा भवन निर्माण विभागकी इन्जीनियर प्रतिष्ठा मानन्धरले संयुक्त रुपमा भवन सिलान्यास गरेका हुन् । 
अहिले नमुना घर निर्माण भइरहेको प्राविधिक सहयोगी संस्था राडो नेपालका अध्यक्ष कृष्ण धितालले बताए । मकवानपुरको भुकम्प प्रभावित क्षेत्र आग्रा गाउँ विकास समितिमा पनि भुकम्प प्रतिरोधी स्थायी आवास निर्माणको शिलन्यास मात्रै भएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी मान बहादुर विश्वकर्माले आग्रा गाविस वडा नंबर ५ की कान्छीमाया थिङको घर ५ चैतमा शिलन्यास गरेर आग्रामा पुनः निर्माण अभियान थालनी गरेको बताए । 
नेपाल सरकार शहरी विकास तथा भवन निर्माण मन्त्रालयले तयार पारेको मापदण्ड अनुसार भवन निर्माण हुने बताईएको छ ।

अभिमुखीकरणमै सीमित

भूकम्प पीडित जनतालाई विभिन्न प्याकेज सहितको पुर्नलाभ कार्यक्रमको योजना बनाएर अघि बढेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरले आफ्नो सहयोगको विषयमा अभिमुखीकरण गर्न थालेको छ । आवासिय सहयोग सहित खानेपानी, स्वास्थ्य शिक्षा, जीविकोपार्जन कार्यक्रम संचालन गर्ने योजना रहेको रेक्रसले आवासिय कार्यक्रम संचालन गर्न सकेको छैन ।

रेक्रसले मकवानपुरको गोगने, डाँडाखर्क, खैराङ, नामटार र थाहा नगरपालिकामा कार्यक्रम संचालन गर्ने जनाएको छ । १३ चैतमा थाहा नगरपालिकामा स्थानीयहरुलाई रेक्रसले आफ्नो कार्यक्रमको विषयमा जानकारी गराएको छ । त्यस्तै भूकम्प पीडितका लागि पुर्नलाभ कार्यक्रम संचालन गरिने क्षेत्रहरुमा अभिमुखीकरण कार्यक्रम संचालन गरिरहेको पुर्नलाभ कार्यक्रम संयोजक महेश न्यौपानेले बताए । कार्यक्रममा रेक्रसले थाहा नगरपालिकाको वा नंबर २, ३, ६, ७, १०, ११ र १२ मा कार्यक्रम संचालन गरिने संयोजक न्यौपानेले बताए । रेक्रसले मकवानपुरमा छ सय आवासिय घर निर्माण गर्ने योजना रहेको छ ।

पुर्नलाभ कार्यक्रमका फिल्ड संयोजक मुक्ति घिमिरे र संयोजक न्यौपानेले सहजीकरा गरेको कार्यक्रम सामाजिक परिचालक नविन कार्कीले संचालन गरेका थिए । कार्यक्रममा पुर्नलाभ कार्यक्रमका सामाजिक परिचालकहरु, थाहा नगरपालिकाका इन्जिनियर सन्तोष बोहरा, संयूक्त वडा केन्द्र पालुङ, दामन र बज्रवाराहीका सचिवहरु क्रमशः दिनेश महर्जन, पाल्साङ लामा र सुनिल लामिछानेको तथा नेपाली काँग्रेसका नवराज कार्की, नेकपा एमालेका ज्ञानेश्वर ढकाल, एकीकृत माओवादीका हरिशरण कार्की, नेपाल रेडक्रस सोसाइटी उपशाखा पालुङका सभापति केदार प्रसाद विडारी, जिल्ला सदस्य हरिकृष कार्की लगायतकाको उपस्थिती रहेको थियो ।

३५ करोड ७० लाख बितरण 

वैशाख १२ को भूकम्प र त्यसपछिका पराकम्पनका कारण पीडित बन्न पुगेका मकवानपुरका नागरिकलाई हालसम्म ३५ करोड ७० लाख रुपियाँ बितरण गरिएको छ ।२१ हजार एकसय ३६ पूर्णक्षति भएका तथा १९ हजार सातसय ३५ आंशिक क्षति भएकालाई रकम बितरण गरिएको छ । उनले न्यानो कपडाका लागि छ करोड रुपियाँ बितरण गरिसकिएको जिल्ला विकास समिति मकवानपुरका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताए ।

कार्यक्रममा राडो नेपाल तथा गैसस महासंघ मकवानपुर अध्यक्ष कृष्ण धितालले भूकम्प पीडितको पुनर्निर्माणका लागि टियर फण्डको सहयोगमा राडोले ती दुई गाविसमा १३ करोड ७६ लाख रुपियाँ खर्च गर्ने बताएका थिए । उनले जिल्लामा रहेर भूकम्प पीडितका क्षेत्रमा काम गरिरहेका गैरसकारी संस्थालाई प्रशासनको आग्रह अनुसार प्रतिवेदन बुझाउन र समन्वय गरेर अगाडि बढ्न भनेका थिए। राहत रकम बितरणका लागि जिल्लामा अझ छ करोड रुपियाँ अपुग रहेको बताइएको छ। थापाले भूकम्प पीडितको पुनःलगत संकलन माग गर्दै ११ हजार १६ वटा उजुरी दर्ता भएको जानकारी दिए ।

पुनःनिर्माणमा भएको ढिलाईप्रति प्रधानमन्त्रीको असन्तुष्टी 

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माण कार्यक्रममा देखिएको ढिलाइप्रति चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सम्बन्धित मन्त्रालय, निकाय र एकाइबीचको समन्वयका लागि आयोजित पुनःनिर्माणसम्बन्धी गोष्ठीको काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनताले सोचेजस्तो गरी काम अघि नबढेको बताए ।
“समग्र सरकार र पुनःनिर्माणका कामबाट म आफू पनि सन्तुष्ट छैन । यसमा मेरो पनि दोष होला तर अन्य बाधा र अड्चन देखाएर अभियानलाई ढिलाइ गर्ने काम सह्य हुनेछैन । त्यसका लागि मन्त्रिपरिषद् वा संसद्बाट गर्नुपर्ने कामका लागि म तयार छु” – ओलीले भने, “अबदेखि कुनै पनि नाममा व्यवधान भएमा त्यस्ता कर्मचारीलाई सरुवा गरी काम गर्नेलाई खटाइनेछ, जनतालाई छानोमुनि ल्याउने काममा दशकौं वर्ष लाग्ने स्थिति भए राम्रो हुनेछैन ।”प्रधानमन्त्री ओलीले अबदेखि कहाँ के कति पुनःनिर्माण भयो र कर्मचारी खटाइयो भन्नेबारे दैनिक विवरण राष्ट्रिय सञ्चारमाध्यमबाट सार्वजनिक हुनुपर्ने भन्दै यसमा युवा स्वयम्सेवक पनि परिचालित गर्नुपर्नेमा जोड दिए ।
उनले नयाँ उचाइ र आत्मविश्वासका साथ पुनःनिर्माणका काम अघि बढाउन पटक पटक आग्रह गर्दै गत २ माघबाट शुरु भएको पुनःनिर्माण महाभियानअन्तर्गत रानीपोखरी र धरहरा पुनःनिर्माणका कामको पनि आपूmले प्रगति नदेखेकामा चिन्ता व्यक्त गरे । ‘मेरो धरहरा म बनाउँछु’ अभियानमा हालसम्म मन्त्री र केहीबाट गरी रु १८ लाखमात्र जम्मा भएकामा पनि उनले प्रश्न उठाउँदै यसमा संयन्त्र र जनस्तरबाट सहयोगको अपेक्षा राखे ।
सम्बन्धीत समाचार:
टिष्टुङमा पुनःनिर्माण शुरु
मकवानपुरको आग्रामा पुनःनिर्माण शुरु 
भूकम्प पीडितलाई रकम वितरण तत्कालै



All news in One Place