हेटाैंडामा वृहत चक्रपथ बन्ने

गाेपिकृष्ण ढुङ्रगाना/
हेटौंडा सहरलाई व्यापकता दिन ६३ किलोमिटर लामो चक्रपथ बन्ने भएको छ।सरकारले करिब २५ करोड रुपैयाँ खर्चिएर चक्रपथ बनाउने भएको हो।
हेटौंडा उपमहानगरपालिका क्षेत्रमा विस्तार भएका साविकका गाउँ विकास समितिका क्षेत्र पूर्वमा हर्नामाडीदेखि हटिया, चुरियामाई र पदमपोखरी, पश्चिममा बसामाडी समेतलाई समेटने गरी हालको चौघडा, राकलेखेत, फुर्केचौर, शिखरपानी, भोर्ले, रातमाटे, पदमपोखरी, वस्तीपुर, बसामाडी, लालझाडीहुँदै चौकीटोल जोड्ने ग्रामीण सडकलाई नै विस्तार र स्तरोन्नति गरी बृहत चक्रपथ निर्माण गरिनेछ।
उपमहानगरपालिकाको उक्त बृहत चक्रपथ आयोजना हेटौडा बजारबाट ६ किलोमिटर दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गको रातामाटेबाट सुरु हुनेछ। चक्रपथ निर्माणका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले प्रारम्भिक सर्वेक्षण गरेको हो। 
विभागको स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रमका प्रमुख गंगाबहादुर बस्नेतले हेटौंडा उपमहानगरपालिकाको सम्भावित पूर्वाधार विकासका लागि चक्रपथ बनाइन लागेको बताए। उनले आइतबार अन्नपूर्णसँग भने, 'चक्रपथ जोडिन आठ किलोमिटर ट्रयाक खोल्न बाँकी भएकाले सोका लागि विभागले नै ५० लाख रुपैयाँ बजेट दिने तयारी भएको छ। 
सर्भेका लागि लाग्ने करिब १३ लाख रुपैयाँ पनि विभागले उपलब्ध गराउनेछ तर बाँकी सबै काम हेटौंडा उपमहानगरपालिकाले नै गर्नुपर्नेछ।' उनका अनुसार, चक्रपथ निर्माणका लागि लाग्ने भनिएको २५ करोड रुपैयाँ भने सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्थानीय विकास मन्त्रालय र राष्ट्रिय योजना आयोगले व्यहोर्नेछन्।
अध्ययनअनुसार, बृहत चक्रपथको कुल लम्बाई ६३.०१३ किलोमिटर छ । यसमध्ये कालोपत्रे र ओटासेल खण्ड २२.५० किलोमिटर, ग्राभेल, माट र नयाँ सडक गरी बाँकी ४०.५० किलोमिटर छ। 
पूर्वपश्चिम राजमार्गको कालोपत्रे खण्डमा र कान्ति राजपथ खण्डमा हाल मर्मत सम्भार गर्नु पर्ने आवश्यकता नरहेको अध्ययनको निष्कर्ष छ। बृहत चक्रपथको चांैडाई १० मिटर र सडकको क्षेत्राधिकार २१ मी (१५ मिटर र ६ मिटर सेटब्याक दुवैतर्फ कायम हुने गरी) परिकल्पना गरिएको छ। 
ओटासेल सडक ३.६६५ किलोमिटर खण्डमा सडक विस्तार गरी त्यही अवस्थामा ल्याउन करिब ९१ लाख ६२ हजार, ग्राभेल सडक १०.८७७ मिटर विस्तार र ग्राभेल स्तरमा ल्याउन करिब चार करोड ३५ लाख, कच्ची सडक २१.५५५ किलोमिटर सडक विस्तार र ग्राभेल स्तरमा ल्याउन करिब आठ करोड ६२ लाख खर्च हुनेछ। 
यसैगरी नयाँ ट्र«याक ८.०२३ किलोमिटर खोल्न र ग्राभेल स्तरमा ल्याउन करिब तीन करोड ६१ लाख र सडक खण्ड विस्तार र स्तरोन्नति गर्ने ४० किलोमिटरको विस्तृत अध्ययन गर्न करिब २० लाख गरी कुल १७ करोड ५० लाख रुपैयाँ लाग्नेछ । यसैगरी सरंचना निर्माण गर्न करिब ६ करोड ९० लाख लाग्नेछ।
पाँचवटा गाविस भागेर बनाएको उपमहानगरपालिका हेटौंडाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले चालू आर्थिक वर्षमा बाँकी रहेको नयाँ ट्रयाक खोल्न ५० लाख र सडकको विस्तृत अध्ययन परियोजना (डीपीआर) तयार पार्न १५ लाख गरी जम्मा ६५ लाख लागतको कार्य अगाडि बढाउने साथै स्थानीय र केन्द्रीय योजनामा समावेश गरी स्तरोन्नतिको कार्यसमेत गर्ने जानकारी दिए। 
उनले भने, 'डीपीआरका लागि पनि विभागसँग अनुरोध गरेका छौं। हेटौंडाको दीर्घकालीन लक्ष्य प्राप्तिका लागि तर्जुमा भएको रणनीतिक आयोजना तथा कार्यक्रम अन्तर्गत २० औं नगर परिषदको निर्णयअनुसार चालू आर्थिक वर्षका लागि स्वीकृत वार्षिक नगर विकास योजनामा चक्रपथको काम पारेका छौं।' 
उपमहानगरपालिका भएका सहरले धमाधम चक्रपथको काम अघि बढाएकाले हेटौंडाले पनि काम अघि बढाएको उनको भनाइ छ। उनका अनुसार, भोर्लेकमाने निम्न माध्यमिक विद्यालय, जाँते, दुगदी चोक, खाँती टोल, ध्याम्पेचोक, सानो गँगेट, रमिते गोढ दमार, खट्कुले, फुर्केचौर पिपलबोट चौतारा चोक, एक्लेखेत, दोभानचौर, गवावाही, चुनडाँडा कान्ति राजपथ जाने विन्दुसम्मको खण्डमा धेरै कच्ची सडक र केही भागमा ग्राभेल सडक रहेको छ।
यसैगरी, चुनडाँडादेखि चौघडाहुँदै बुढाचोक तिनताप्केसम्म कन्तिराजपथ खण्ड र पूर्वपश्चिम राजमार्ग खण्ड कालोपत्रे सडक छ । तीनताप्केदेखि तल्लो रमनटार, घडेरी डाँडा, हात्ती गौडासम्मको खण्डमा ग्राभेल सडक छ। 
हात्तीगैडादेखि हाँडीखोला मकरी सडकहुँदै पदमपोखरी बजारसम्म ग्रामीण पहुँच सुधार तथा विकेन्द्रकरण परियोजनाबाट निर्माण गरिएको ओटासिल सडक छ। पदमपोखरी बजारबाट रमनथली गुम्बा, मयुरछाप, उत्तरपानी, उत्तरपानी पुछार, बँदेलघाप, ड्राइभर डाँडा, नयाँ बस्ती, पुर्वपश्चिम राजमार्ग विन्दु र अन्तिममा सुरुको विन्दु रातमाटेसम्म चक्रपथ कायम हुनेछ। अन्नपुर्णपाेष्ट डटकममा १० गते प्रकाशित

All news in One Place