अन्तराष्ट्रिय हेटौंडा गोल्डकप फुटबल सुरू : उद्घाटन खेलमा अायाेजक विजयी


भूकम्पमा परी निधन भएका खेल पत्रकार सुमन भोम्जनको स्मृतिमा शनिबारबाट हेटौंडामा सुरु भएको कलर्स मोवाइल अन्तराष्ट्रिय आमन्त्रण हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७२ मा आयोजक टोली रिगल हेटौंडा रिसोर्टले विजयी सुरुवात गरेको छ ।

पाहुना टोली भुटानको क्लियरिङ फुटबल क्लबलाई उद्घाटन खेलमा ४–० गोलअन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । हेटौंडाका जीतमा एल्विस एपीहोले दुई गोलको योगदान गरेका थिए । योगेश गुरुङ र कर्ण लिम्बुले पनि एक/एक गोल गरेका थिए ।
खेलमा म्यान अफ दी म्याच घोषित भएर एकथान कलर्स मोवाइल उपहार पाएका एल्विसले ३४ औं मिनेटमा गोलको खाता खोलेका थिए । उनले ७८ औं मिनेटमा व्यक्तिरुपमा दोस्रो गोल गरे । योगेशले ७० औं र कर्ण लिम्बुले खेलको अतिरिक्त समयमा गोल गरेका थिए । गोल गर्ने तीनै जना खेलाडीले आयोजकले प्रतियोगिताभरका लागि आफ्नो टोलीमा आबद्ध गरेको छ ।
प्रतियोगिता दोस्रो खेलमा आइतबार नेपाल आर्मी र सरस्वती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेताले आयोजकसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । फागुन ८ गतेसम्म चल्ने प्रतियोगितामा आठ टिमको सहभागिता छ । विजेताले नगद तीनलाख र उपविजेताले एकलाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको उद्घाटन सांसदद्वय इन्द्रबहादुर बानियाँ र अनन्तप्रसाद पौडेल तथा भोम्जनकी आमा विमला र पिता सुरेन्द्रले संयुक्तरुपमा भोम्जनको तस्बिर अंकित बेलुन उडाएर गरेका थिए ।
प्रतियोगिता आयोजक सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान अध्यक्ष तथा मूल आयोजक समिति संयोजक भेष खड्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्मा, प्रष्ठिान प्रथम उपाध्यक्ष सविन भट्टाचार्य, द्वितीय उपाध्यक्ष विशाल घोष, महासचिव सविन न्यौपाने, सहआयोजक जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी लक्ष्मण विक्रम थापा, नेपाल खेलकुद पत्रकार मञ्च महासचिव प्रकाश तिमल्सिना, एकीकृत माओवादी मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमिल्सना, व्याड्मिन्टन संघअध्यक्ष विके बोस, सहप्रयोजक बसामाडी जेसीज अध्यक्ष सुनिलकुमार दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

All news in One Place